कोभिड–१९ को नयाँ भेरियन्टको जोखिम ।
सन २०१९को अन्तबाट देखापरेको कोभिड-१९ संक्रमण करिव तीन बर्ष पूरा हुन लाग्दा आम अपेक्षा बिपरित पुनः आफ्नो स्वरुप परिवर्तन गरि ओमिक्रोन भाइरसका रुपमा अझै खतरापूर्ण तवरले देखापरेको छ । यसले बिश्वजगतमा थप त्रास र भयको स्थिति सृजना गरेको छ ।
अत्यन्त कडा र तीब्र गतिमा फैलन सक्ने भन्ने प्रारम्भिक अनुसन्धानका कारण बिश्वका धेरै देशमा पुनः बन्दा बन्दिलाई कडाइका साथ लागू गरिएको छ । दक्षिण अफ्रिकामा देखा परेको यो भेरियन्टबाट बिश्वका झण्डै ३० देश भन्दा बढी मुलुक प्रभावित भइसकेका छन । र सम्भवत यस भेरियन्टको रोकथामका लागि बिश्वजगत सम्वेदनशिल नहुने हो भने थप अमुल्य मानवजीवन गुमाउनु पर्ने निश्चित छ ।
त्यसो त कोभिड–१९ विरुद्धको खोपको आविष्कार संगै मान्छेमा आत्म बिश्वास र हौसला बढाएको भएता पनि बिश्वजगतका सबैलाई खोपको ब्यबस्थापन हुन नसकेको यथार्थता जगजाहेर नै छ । अझ गरिब र निम्न आयस्तर भएका एसियन र अफ्रिकी मुलुकको अवस्था थप जोखिमपूर्ण रहेको छ ।
त्यसैले पनि कोभिड–१९ विरुद्ध सबै आम नागरिक स्वयम स्वास्थ्य मापदण्डको पालनाका लागि सजग रहनै पर्दछ । इतिहासमा बिरलै देखिने यो संक्रमणको सहज अन्त कहिले हुने हो अनिश्चित छ । बिश्व अर्थतन्त्रका सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको यस रोगले परिवार र समाजमा गम्भीर असर पुर्याएको छ । साथै अन्तर्राष्ट्रिय जगतबाट गरिबी र पछौटेपनको अन्त गर्ने साझा उद्देश्यमा समेत बाधा पुग्ने निश्चित छ।
पच्छिल्लो पटक देखिएको ओमिक्रोन भाइरससंगै नेपालले थप सतर्कता देखाउन जरुरी देखिन्छ । चारै तिर बाट सिमाना खुल्ला रहेको हाम्रो भु-राजनीतिका कारणले पनि हामी सतर्क हुनै पर्दछ । अझ छिमेकी मुलुक भारतमा समेत यो भाइरस देखा परिसकेको समाचारले हामीलाई थप चिन्तित बनाएको छ ।
अत: तीनै तहका सरकार र आम नागरिक गम्भीरताका साथ स्वास्थ्य मापदण्डको पालना गर्दै भिडभाड कम गर्ने दिशामा लागी पर्नु आबश्यक छ । साथै कोभिड–१९ बिरुद्धको भ्याक्सिन सबै नागरिक सम्म पुर्याउन तिनै तहका सरकार गम्भीरताका साथ अगाडि बढ्न आवश्यक रहेको छ ।